इटहरी : कोशी कोरिडोरलाई छोटो दुरीको बनाउनको लागि चतरा-मुलघाट र चतरा-लेगुवाघाट सडक खण्ड निर्माण हुने भएको छ । नेपाल सरकारले देशभरका विभिन्न सात वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत पश्चात् निर्माण कार्य अगाडी बढाउने भएको हो ।

एक वर्षमा ९ वटा सडकको नयाँ काम तथा स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट सार्वजनिक भएको छ । जसमा कोसी कोरिडोर अन्तरगतको चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड खर्च हुने अनुमान गरिएको छ । रिपोर्टमा उल्लेख भए अनुसार ६२.४२६ किलोमिटर सडक निर्माणका लागि प्रति किलोमिटर ६ करोड ६८ लाख रुपैयाँ लगानी हुने भएको छ ।

सडक विभाग भू-वातावरण तथा सामाजिक सुरक्षा शाखाको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट पेस भएको छ । सो सडक धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको वडा नम्बर १०, शहीदभूमी गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ र पाख्रीवास गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ मा पर्ने भएको छ ।

९ मिटर चौडाइ रहने सडकको ७ मिटर कालोपत्रे र सडकको दायाँ बायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ । 

चतरा-मुलघाट २ अर्ब ६३ करोड लगानी 

कोशी कोरिडोर अन्तर्गत नै चतरा-मुलघाट सडकमा २ अर्ब ६३ करोड २३ लाख लगानी हुने भएको छ । ३० प्रतिकिलोमिटर दुरीको सडकमा प्रति किमी ७ करोड ५२ लाख लागत अनुमान गरिएको छ । 

सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका क्षेत्रमा सडक निर्माण हुने भएको छ । पूर्णतः नयाँ सडक सप्तकोसी नदी र तमोर नदीको किनारै किनार मुलघाट पुग्ने भएको छ । सडक निर्माण हुँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा यातायातको चाप घट्ने देखिएको छ । 

पाँचथरमा नयाँ सडक 

त्यस्तै पाँचथरमा १४ अर्ब ९८ करोड ३५ लाखको लागतमा नयाँ सडक निर्माण हुने भएको छ । १८ किलोमिटर लामो च्याङथापु-फालोट सडकको लागि प्रति किमी ८ करोड ३२ लाख लगानी हुने अनुमान गरिएको छ । सहायक राजमार्ग स्तरको यो सडक चौडाइ ७.५ मिटर रहने भएको छ । 

काँकडभिट्टा लौकही १२० किमी स्तरोन्नति हुने 

काँकडभिट्टा-लौकही १ सय २० किलोमिटर सडक स्तरोन्नतिको लागि ५० अर्ब ७७ करोड लगानी हुने भएको छ । अन्तर्राष्ट्रिय व्यापारिक राजमार्गको रूपमा रहेको सडक दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोगमा राजमार्ग सुधार कार्यक्रम सुरु भएको हो । पुलहरूलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गरिने योजना रहेको रिपोर्टमा उल्लेख छ । 

एसियाली विकास बैङ्कको लगानीमा निर्माण हुने सडक क्षेत्रमा ७१ वटा पुलहरू पर्ने भएका छन् । सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर चौडाइको सडक डिजाइन तय गरिएको छ ।