धरान : विमल गुरुङ स्मृति पुस्तकालयले प्रदान गर्ने २ लाख रुपैयाँको कृति पुरस्कारका लागि १०१ वटा पुस्तक प्राप्त भएको छ ।

प्राप्त पुस्तकहरू मध्ये २१ वटा कृति छनौट चरणमा चयन भएको आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुस्तकालयले जनाएको छ ।

स्वर्गीय कवि विमल गुरुङको ५२ औँ जन्म जयन्ती कात्तिक १९ गते आयोजना हुने ३२ औँ राष्ट्रिय कविता महोत्सवमा विमल गुरुङ कृति पुरस्कार-२०७९ प्रदान गरिने छ ।

छनौट चरणका २१ मध्येबाट ७ कृति छनोट गरिने र त्यसमध्ये सर्वोत्कृष्ट ठहरिएको कृतिलाई पुरस्कार तथा पुरस्कृत कृतिका स्रष्टालाई  ताम्र पत्र, दोसल्ला ओढाएर सम्मानित गरिनेछ ।

सोही अवसरमा राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई पनि पुरस्कार प्रदान गरिने छ । धरान-१८ स्थित विमल गुरुङ स्मृति पुस्तकालयमा हुने कविता महोत्सवका लागि उत्कृष्ट १० कविता पनि  छनोट भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उक्त कविताहरू मध्ये उत्कृष्ट तीन कवितालाई पुरस्कृत गरिने पुस्तकालयका संरक्षक, अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । पुरस्कृत कविहरूलाई प्रथम, दोस्रो, तेस्रो क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सोही अवसरमा भारत कालेबुङका प्रतिभाशाली युवा कवि बिल नाल्बोलाई ‘विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान २०८०’ प्रदान गरिने जानकारी दिइएको छ ।

विमल गुरुङ कृति पुरस्कारका लागि प्राप्त कृति मध्ये छनौट चरणमा चयन भएका २१ कृतिको नाम र लेखकको नाम पुस्तकालयले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

छनौट चरणमा परेका दर्शन, चिन्तन, यात्रा संस्मरण, उपन्यास, कथा सङ्ग्रह, कविता सङ्ग्रहहरू कृतिहरू  नेपाल, भारत र विदेशमा रहेका नेपाली स्रष्टाहरूका छन् ।

छनौट चरणमा चयन भएका २१ वटा कृतिहरु : 


21 kriti haru