धरान : कवि शिरोमणि साधना समाज साहित्यिक संस्थाले शनिवार एघारौँ साधारण सभा सम्पन्न गरेको छ । साहित्यको साझा मञ्चलाई संस्थागत रूपमा अघि बढाउन समाजले साधारण सभाको प्रक्रियालाई निरन्तरता दिदैं आएको हो ।

साधारण सभामा प्रमुख अतिथि नेपाली लेखक सङ्घका सुनसरी अध्यक्ष हर्ष सुब्बाले नेपाली साहित्यको क्षेत्रमा धरानका श्रष्टा, साहित्यिक गतिविधिले ऐतिहासिक काल देखी महत्त्वपूर्ण स्थान राख्दै आएको बताए ।

पछिल्लो कालखण्डमा सुसुप्त बनेको धरानको साहित्यिक गतिविधिलाई गतिशीलता प्रदान गर्दै आएको  साहित्यिक मञ्चहरूमा कवि शिरोमणि साधना समाजको एघारौँ साधारण सभा साहित्यिक संस्थालाई संस्थागत रूपमा अघि बढाउने महत्त्वपूर्ण खुड्किलो भएको उनको भनाई थियो ।

नेपाली लेखक सङ्घ केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपालको लोकतान्त्रिक परिवर्तनहरूमा साहित्यकार तथा साहित्यिक गतिविधिहरूको महत्त्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय आएको सञ्चारका प्रविधिको कारण साहित्यिक गतिविधिहरू शिथिल हुँदै गएको बताए ।

बिपी चिन्तन प्रतिष्ठानका सचिव पुष्पराज ढकाल, टीकाप्रसाद बस्ती प्रतिष्ठानका विनायक बस्ती लगायतले साधना समाजको साहित्यिक सक्रियताको बारेमा प्रकाश परेका थिए ।

सभामा समाजका सचिव उपप्राध्यापक डा.महानन्द तिम्सिनाले संस्थाका साहित्यिक गतिविधिहरूका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष जगन्नाथ कट्टेले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार समाजले गरेका साहित्यिक गतिविधिमा कुल १ लाख २९ हजार ७८५ रुपैयाँ आम्दानी र खर्च भएको देखिएको छ ।

सभामा कवि हिक्मत खड्का, इन्दु तोदी, विजय घिमिरे, चेतादेवी निरौला, लक्ष्मी सुवेदीले कविता वाचन गरेकी थिइन् । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको सभापतित्वमा भएको साधारण सभा सचिव डा.महानन्द तिम्सिनाले सञ्चालन गरेका थिए ।