धरान : मुख्य चाडपर्व आउनै लागेका बेला पेट्रोलियम पदार्थको भाउ बढाएको नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिएको छ।

शनिवार नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डीजल, हवाई इन्धन र मट्टितेलको भाउ बढाएको थियो।

भाउ वृद्धि भएको खबरसँगै सामाजिक सञ्जालमा मानिसहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका थिए भने कतिपय राजनीतिक दलका नेताहरूले पनि त्यसको विरोध गरेका थिए।

दसैँ-तिहार आउनै लागेका बेला मूल्यवृद्धि गरिएको भन्दै विरोध भएपछि आइतबार बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकमा प्रधानमन्त्रीले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसकेको जानकारी मन्त्रीहरूलाई दिएका थिए।

'प्रधानमन्त्रीज्यूले पहिले नै निर्देशन दिइसक्नु भएको थियो त्यसको जानकारी बैठकमा गराउनु भयो,' सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीहरू सँग भनिन्।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै नेपाल आयल निगमका उमेशप्रसाद थानीलाई बोलाएर मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका हुन्।