वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर एरियामा प्रथम संस्करणको कोकाहा कौशिकी मिनि गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय कोकाहा फुटबल क्लबको आयोजनामा असोज २१ गतेदेखि २८ गते सम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका फुटबल क्लबहरू सहभागी हुनेछन् । सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको थियो ।

आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार खारखोला फुटबल क्लब वराहक्षेत्र, विराटनगर सिटी क्लब मोरङ, धरान-१६ फुटबल क्लब धरान,  हाटखोला फुटबल क्लब वराहक्षेत्र, तालतलैया फुटबल क्लब इटहरी, रियल ढुड्रीबोटे फुटबल क्लब उदयपुर, वगुवा फुटबल क्लब वराहक्षेत्र र आयोजक कोकाहा फुटबल क्लब मन्दिर एरियाले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

कुल ३ लाख ८० हजार लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार २६ हजार रहने छ । दैनिक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिता भर विद्यागत उत्कृष्ट खेलाडीहरूलाई नगद र ट्रफी प्रदान गर्ने आयोजक क्लबका सचिव रबिन परियारले बताए ।

"इतिहास रच्नलाई मैदान जहाँ भए पनि फरक पर्दैन" भन्ने नारा सहित  खेलाडीलाई प्रोत्साहन, खेल कौशल प्रस्तुतिसँगै वराहक्षेत्र धामको प्रचार प्रसार र कोकाह कौशिकी तीर्थको प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको स्थानिय वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।

सेभेन साईजमा हुने प्रतियोगिता स्थानीय कोकाह खोलाको किनारमा रहेको खेलमैदानमा आयोजना हुने । प्रतियोगिताको मुख्य प्रायोजक वराहक्षेत्र नगरपालिकाको कार्यालय, वडा नं १ को कार्यालय, वराहक्षेत्र संरक्षण मञ्च रहेको छ ।