धरान : मोटर बाइक प्रेमीहरूकालागि धरानमा बिक्री वितरण सुरु भएको क्रसफायर ब्राण्डको मोटरबाइक शोरुम खुलेको जानकारी गराउन आज बिहीबार दिउँसो भानुचौकमा रोमाञ्चक स्टन्ट प्रदर्शन गरेको छ ।

बाइकको शोरुम धरान-८ धनकुटे रोडमा सञ्चालनमा आएको हो । क्रसफायर ब्राण्ड बाइकको बिक्री वितरणका लागि मितेरी डेभलपर्स एण्ड सप्लायर्सले धरानमा शोरुम खोलेको हो ।

एक समारोहका बिच धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले शोरुमको उद्घाटन गरेका हुन । उद्घाटनकै अवसरमा क्रसफायर बाईकमा चढेर उनी र्‍यालीमा हिँडे ।

मोटर बाइक र्‍याली सोरुम देखि भानुचोक छाताचोक हुँदै लक्ष्मी सडक, पुरानो बजार हुँदै भानुचोकमा आएर टेष्ट ड्राइभ गर्दै रोमाञ्चक स्टन्ट प्रदर्शन गरिएको हो ।

भानुचोकमा भएको खुल्ला बाइक स्टण्टमा हजारौँ दर्शक सँगै उपमेयर बेघा पनि सहभागी थिए । उपमेयर बेघाले बाइक राईडर स्टण्टम्यानलाई सम्मान समेत गरे ।

शोरुम सञ्चालक लुकेन्द्र राईले क्रसफायर बाइक युवा पुस्ता माझ लोकप्रिय रहेको बताए । धरानको २० र ४ नम्बर वडा अफरोड भएकोले पर्यटनमा रुचि हुने युवा पुस्तालाई रोमाञ्चक राइडिङका लागि क्रसफायर ब्राण्डका बाइक सहज र सुलभ हुने बताइएको छ ।

शोरुम बिहीबार मात्र खुलेपनी २ वर्षदेखि नै धरानमा क्रसफायर बाइकको व्यापार भइरहेका उनको भनाई छ। उनले बाइक प्रेमीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि धरानमा केन्द्रित गरी शोरुम खोलेको बताए । उनले भने ‘भविष्यमा धरानमा प्लान्ट राखेर इलेक्ट्रिक बाइक, स्कुटरको एसम्बल उत्पादन गरी बिक्री वितरण गर्ने योजना पनि छ ।’

हालै मात्र सोरुम सञ्चालन गरे पनि क्रसफायर ब्राण्डको डट बाइक पहिलै देखि भाडामा उपलब्ध गराएको सञ्चालक राईले बताए ।

क्रसफायर ब्राण्डको डट बाइक विशेष गरी एडभेञ्चर गर्न मन पराउने युवा पुस्ता माझ अत्यधिक रुचिमा रहेको पाइन्छ । बाइक स्टाइलिस देखिने पहाडी रुट, कच्ची सडक र अफरोड यात्राको लागि उपयुक्त रहेकाले युवाहरू यो बाइक मन पराउँछन् ।

क्लासिक ह्विल एक्स्पोर्ट एण्ड इम्पोर्टका मार्केटिङ प्रमुख अनुराग वमले पछिल्लो समय डट बाइकको रेस पनि हुन लागेकोले यो मोटरसाइकल खेलकुदको लागि पनि उपयोगी भएको बताए । क्लासिक ह्विलले सन २०१३ देखि नेपालमा क्रसफायर ब्राण्डको बाइक र स्कुटर नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

क्रसफायरको डट बाइक एचजे २५०, ट्रयाकर २५० र आरएम २५० गरी ३ वटा मोडलमा छन् । यस्तै, स्ट्रिट बाइकमा स्टालियन र नेभेदा मोडलमा पाइने बताइएको छ । स्कुटरमा इटालिका मोटो १५० सिसीको पाइने मार्केटिङ प्रमुख बमले जानकारी दिए ।

डटबाइक आरएम २५०को मूल्य अहिले घटेर ७ लाख ९९ हजार कायम भएको छ। यसमा पनि दसैँ अफर कार्तिक १५ सम्म चल्ने भएकोले ५० हजार छुट दिइने उनले बताए । एचजे २५० को मूल्य ७ लाख १९ हजार तोकिएको छ ।

अर्को ट्रयाकर २५० सिसीको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ । दसैँ अफरमा ४० हजार छुट दिइने उनले बताए । ‘यो छुट दशै तिहार र छठ पर्वमा अहिले सम्मकै धेरै छुट भएको उनको भनाई छ ।