विराटनगर : सरकारले हत्यारालाई आममाफी दिएको भन्दै विराटनगरमा ‘अचेतन नागरिक समूह’ले प्रदर्शन गरेको छ ।

शुक्रवारदेखि हरेक साँझ विराटनगरको ट्राफिक चोकमा युवाहरूको समूहले यस विरुद्ध  विरोध प्रदर्शन गर्न थालेका हुन्  ।

पछिल्लो समय संविधान दिवस  र गणतन्त्र दिवसका नामका हत्याजस्ता जघन्य अपराध गर्ने अपराधीलाई आममाफी दिने चलन बढ्दै गएको कार्यक्रम संयोजक किरण खड्काले बताए ।

‘तीन वटै तहका अदालतबाट जन्मकैदको सजाय पाएका अपराधीलाई विभिन्न दिवसको नाममा रिहा गर्ने हो भने देशमा कोही पनि सुरक्षित रहँदैन’ उनले भने, ‘यसै पनि नेपाललाई न्याय हराएको देश भनिन्छ, सरकारका यस्ता गतिविधिले यो कुरा सत्य साबित भएको महसुस हुन्छ।’ राज्यका यस्ता गतिविधिले अपराध गर्न उत्प्रेरित हुने गरेको उनले बताए । संविधानका रक्षक नै भक्षक भएको उनको भनाइ छ ।

शान्तिपूर्ण प्रदर्शनमा युवाहरूले ‘भारतीलाई न्याय दे’, ‘मान्छे मार्न पाइँदैन’, ‘गुण्डाराज बन्द गर’लगायतका नारा लगाएका थिए । शान्तिपूर्ण विरोध प्रदर्शन दैनिक रूपमा गरिने र प्रदर्शनमा हस्ताक्षर सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष बुझाउने पनि आयोजकले जनाएको छ ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको कैद माफी मिनाहा गरेका थिए । कैद माफी पाउनेमा व्यक्ति हत्याको मुद्दामा सजाय भोगिरहेका बाँकेका योगराज ढकाल रिगल पनि रहेका छन् । नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतको नेपालगन्ज इजलासले उनलाई जन्मकैदको सजाय सुनाएको थियो र उनी दाङ कारागारमा कैद सजाय भोगिरहेका थिए । राष्ट्रपतिको निर्णयपछि उनी रिहा भएका छन् ।