वराहक्षेत्र : आइतबारदेखि वराहक्षेत्र नगरपालिका वडा नं. १ वराहक्षेत्र मन्दिर परिसरमा सुरु भएको प्रथम संस्करणको कोकाह कौशिकी मिनी गोल्डकपको उद्घाटन खेलमा धरान-१६ फुटबल क्लब धरान विजयी भएको छ।
खारखोला फुटबल क्लब वराहक्षेत्रलाई शून्यको विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै धराने क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ११ औँ मिनेटमा सौजन राईले निर्णायक गोल गरेका थिए ।
निर्णायक गोल गरेका धरानका सौजन राई खेलमा म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ सय रुपैयाँ प्राप्त गरे । कोकाह फुटबल क्लबको आयोजनामा धार्मिक तथा पौराणिक रूपमा प्रसिद्ध कोकाह खोलाको किनारामा रहेको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत सोमवार तालतलैया फुटबल क्लब इटहरी र बगुवा फुटबल क्लब वराहक्षेत्रका बिच खेल हुने क्लबका सचिव रबिन परियारले बताए ।
आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वराहक्षेत्र नगर खेलकुद विकास समितिका अध्यक्ष एव वडा नं.७ का अध्यक्ष कपिल आचार्य गरेका थिए।
उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष किसन मगर, वडा सदस्य कुमार भट्टराई, अमिना राई, नगर खेलकुद विकास समितिका सदस्य सन्तोष श्रेष्ठ, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, सचिव राजु घिमिरे, कोषाध्यक्ष सुमन भण्डारी, वराहक्षेत्र मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठ, गुप्त वराह प्रवर्द्धन तथा संवर्द्धन उपसमितिका संयोजक रबी श्रेष्ठ, वराहक्षेत्र सरसफाइ तथा वातावरणीय समितिका अध्यक्ष रामकुमार भुजेल लगायत अतिथि रहेका थिए ।

        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































