धरान : बिपी प्रतिष्ठानमा सात वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गराउन थालिएको चिकित्सकहरूको आन्दोलन बिपी प्रतिष्ठानलाई ठप्प बनाउने दिशामा अग्रसर भएको छ । प्रतिष्ठानका १७७ जना चिकित्सकले सामूहिक बिदा माग गरेका छन् । माग पुरा नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
सामूहिक बिदाको निवेदन दिनेहरूमा प्रतिष्ठानका सिनियर रेजिडेन्ट, असिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरू छन् । उनीहरूले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका हुन ।
बिदाको सामूहिक निवेदन दिएका उनीहरूले कुनै पनि बेला ‘ड्युटी’ बहिस्कार गरे बिपी प्रतिष्ठान ठप्प हुनसक्छ । प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेरजा अहमद खानले भने ‘प्रतिष्ठानका पदाधिकारीहरूले समस्या समाधान गर्न सकेनन्, त्यसैले गुनासो लिएर काठमाडौँ जानका लागि आन्दोलनकै रूपमा सामूहिक बिदा मागेका हौँ ।’
उनले नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरूको करिब ७ वर्षदेखि रोकिएको बढुवा प्रक्रियाका माग सम्बोधन नभएकोले स्वास्थ्य मन्त्री र प्रधानमन्त्री भेटेर ज्ञापन पत्र बुझाउन काठमाडौँ जाने बताए ।
अध्यक्ष डा.खानका अनुसार स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाइने छ । रोकिएको बढुवाको माग ज्ञापन पत्रमा छ । सिनेट अध्यक्ष समेत रहने स्वास्थ्य मन्त्री र कुलपति प्रधानमन्त्रीलाई असोज २६ सम्मको अल्टिमेटम दिने र पनि सम्बोधन नभए सामूहिक राजीनामा दिने तयारी गरिएको छ ।
उनले भने ‘राजीनामा पत्र पनि ज्ञापनसँगै बुझाउँछ ।’ वृत्ति विकास नभए सामूहिक राजीनामा गरी प्रतिष्ठान छाड्ने शिक्षक कल्याण समाजले निर्णय गरिसकेको उनले बताए ।
प्रतिष्ठानमा कार्यरत चिकित्सकहरू नियमित बढुवा र वृत्ति विकास नहुँदा पछिल्लो पाँच वर्षयता सय जनाभन्दा बढी चिकित्सकहरू प्रतिष्ठानबाट पलायन भएका छन् । बढुवाका लागि यसअघि भदौ २४ गते प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापनबिच ३ बुँदे सहमति भएको थियो ।
एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने, त्यसको एक महिनामा सबै काम सक्ने र अन्तरवार्ताको नतिजा सिनेटमा लगेर पास गर्ने सहमति पुरा नभएको उनीहरूको भनाई छ ।
सहमति भएको २५ औँ दिन असोज १६ गते बसेको प्रतिष्ठान कार्यकारिणी समितिको बैठकले चिकित्सक तथा कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि लोकसेवा आयोग, स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीसँग राय लिएर काम भनिएपछि चिकित्सकहरू असन्तुष्ट बनेका हुन ।
मेडिसिन विभागका प्रमुख एडिस्नल प्रोफेसर डा.रविन मास्केले बढुवाको प्रक्रिया चलिरहेका बेला हालका उपकुलपति प्राडा प्रह्लाद कार्कीले लोकसेवा आयोगलाई पत्राचार गरेर बिचैमा रोकिदिएको आरोप लगाए ।
प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्की समस्या समाधानरतकै लागि हाल काठमाडौँ गएका छन् । उनका अनुसार उनी समस्याको निकासका लागि मन्त्रालयमा छलफलमा छन् । चिकित्सकहरूको सामूहिक बिदा माग बारे उनको भनाई छ ‘उहाँहरूले हतार गर्नुभयो । उहाँहरूकै लागि म खटिरहेको छु ।’

        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































