धरान : नेपाल-भारत स्थित सीमा नाका क्षेत्रबाट लागुऔषध, भन्सार छलेका सामान भित्रिने क्रमलाई कडाइका साथ निगरानी गर्न प्रहरीले तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ परिचालन गरेको छ ।
दशैं सहित नेपाली चाडपर्व नजिक सीमा नाकाबाट भन्सार छलेका अवैध सामान भित्रिने क्रमलाई लक्षित गरी विराटनगर रानी सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच सुरु गरिएको हो ।
सीमावर्ती क्षेत्रबाट हुनसक्ने लागुऔषध ओसार पसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा सीमा नाकामा आवत जावत गर्ने शङ्कित व्यक्तिहरू, सवारी साधनहरू कडाइका साथ चेकजाँच गरिँदै आएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार विराटनगरको ७ सूत्रीय सुरक्षा सुनिश्चितता अभियान-२०८० अनुसार चाडपर्वलाई लक्षित कुकुर सहितको चेकजाँच सुरु गरिएको छ ।
गएको शुक्रवार असोज १९ गतेबाट सीमावर्ती इलाकामा दैनिक तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको हो । कोशी प्रदेश प्रहरीका अनुसार कुकुर सहितको चेकजाँच प्रदेशको मुख्य नाका विराटनगरको जोगवनी र आसपास केन्द्रित गरिएको छ ।
        
                    
        
                                        
        
        
        
















        
        
















































