धरान : डिपो माध्यमिक विद्यालयले सञ्चालन गर्दै आएको यु-१२ ललित अम्बर डिपो कप, दिलकुमार प्लेट च्याम्पियनसिप अन्तर विद्यालय फुटबलको १८ औँ प्रतियोगिता मङ्सिर १८ गते देखी हुने भएको छ ।

आयोजक डिपो माविले आज सोमवार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । प्रतियोगिता मङ्सिर २२ सम्म सञ्चालन हुनेछ ।

डिपो स्कुलले २०६२ साल देखि सुरु गरेको उक्त अन्तर विद्यालय फुटबल प्रतियोगिता नेपालमा कक्षा ५ सम्मका १२ वर्ष मुनीका उमेर समूहका विद्यार्थीहरूको पहिलो संस्थागत प्रतियोगिता हो ।

कोभिड महामारीका कारण २०७७ र २०७८ मा रोकिए बाहेक वर्सेनी प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा सहभागी स्कुलको टिममा १२ वर्ष उमेर र कक्षा ५ सम्मका विद्यार्थीहरू मात्र सहभागी हुन पाउँछन् ।

पत्रकार सम्मेलनमा डिपो स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकले साना उमेरका विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गराउन र उनीहरूमा निहित खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

प्राचार्य राजकुमार राईले सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरूलाई मात्र प्राथमिकताका आधारमा प्रतियोगितामा सहभागी गराइँदै आएको छ । उनले भने ‘अघिल्ला प्रतियोगितामा सहभागी भए पनि ढिलो आउने स्कुल प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुन सक्छन् ।’

प्रतियोगितामा पहिलो खेलमा पराजित हुने विद्यालयले प्लेट च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्नेछन् ।  डिपो कपको विजेताले रनिङ शिल्ड, नगद ११ हजार १११ सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले नगद ७ हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार र ट्रफी मेडल पाउनेछ ।

प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार, रनिङ शिल्ड पाउनेछ । उपविजेताले नगद २ हजार, रनिङ शिल्ड प्रमाणपत्र पाउने भएको छ । 

यसअघि १७ औँ संस्करणमा विजेता नेपाल प्रहरी स्कुल, धरान-१४ विजेता बनेको थियो । ईस्ट्रन इजुकेस्नल एकेडेमी धरान-१७ उपविजेता, धरान लिगामेन्ट स्कुल धरान-१६  तेस्रो स्थानमा रहेको थियो ।

प्लेट च्याम्पियनको उपाधि एक्वा डायनेष्ट्टी स्कुल धरान-१७ ले हासिल गरेको थियो । बराह राईजिङ स्टार स्कुल वराहक्षेत्र उपविजेता बनेको थियो ।

व्यवस्थापन समिति अध्यक्ष मोतीबहादुर लिम्बुको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा डिपो स्कुलको खेल मैदानमा हुने प्रतियोगिता सञ्चालनका लागि अनुमानित कुल ४ लाख ७६ हजार ८६० रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।