इटहरी : इटहरी स्थित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औँ साधारण सभाका अवसरमा इटहरी-५ का ज्येष्ठ नागरिक सहित १० जनालाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिक ७१ वर्षीया नन्दकुमारी आचार्य र ८१ वर्षीय कर्णबहादुर कार्की सम्मानित भएका हुन । साथै संस्थाबाट पूर्व सल्लाहकार शारदाप्रसाद मिश्र, टीकाप्रसाद दाहाल, पूर्व सञ्चालक राजेन्द्रप्रसाद पोखरेल र केशवप्रसाद सिटौला सम्मानित भएका छन् ।

सभामा कक्षा ११ र १२ मा ग्रिन पिस एकेडेमीका उत्कृष्ट विद्यार्थी यदुराम शर्मा लुइँटेलकी छोरी अनामिका शर्मा लुइँटेल, उत्कृष्ट ऋणी महिलातर्फ गीताकुमारी भुजेल, पुरुषतर्फ उपतनारायण थारु, उत्कृष्ट बचतकर्ता जसवतीकुमारी धामी, अन्तराम माझी थारु र उत्कृष्ट कर्मचारी सह व्यवस्थापक प्रदीप चौधरीलाई सम्मान गरियो ।

सम्मानितहरूलाई प्रमुख अतिथि उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोसी प्रदेश शाखा प्रमुख लिलाबल्लभ चापागाईँले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए । एक हजार २९ जना सेयर सदस्य रहेको सहकारी संस्थाको सेयर पुँजी ३ करोड ७६ लाख ३४ हजार नौ सय रहेको व्यवस्थापक नेत्रप्रसाद दुलालले प्रतिवेदन प्रस्तुत गरे ।

सभामा जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल, इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेल, बहुउद्देश्यीय सहकारी सङ्घ सुनसरी अध्यक्ष केदारप्रसाद न्यौपानेले सहकारीको महत्त्व बारेमा प्रकाश पारे । सभापतित्व संस्थाका अध्यक्ष परशुराम दुलालले गरेका थिए ।