धरान : इजरायल-हमास युद्धमा इजरायलले गाजापट्टीमा गरेको लगातारको बम हमलामा सोमवार सम्म मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ५ हजार नाघेको छ । मृत्यु हुने इजरायलीको सङ्ख्या १४ सय छ ।

युद्ध सुरु भएको १६ औँ दिन सम्ममा मृत्यु हुनेको सङ्ख्या ५०८७ पुगेको प्यालेस्टाइनी अधिकारीहरूले बताएका छन् । मृत्यु भएकामा २,०५५ बालबालिका, १,११९ महिला, २१७ वृद्धबृद्धा भएको उनीहरूले बताएका छन् । घाइतेको १५ हजार भन्दा बढी छ ।

इजरायल-हमास युद्ध दुई हप्ता अघि ७ अक्टुबरमा हमासले इजरायल माथि हमला गरेपछि सुरु भएको थियो । यसै क्रममा इजरायलले गएको मङ्गलवार गाजापट्टी स्थित अल-अहली अरब बैप्टिस्ट अस्पतालमा बम हमला गरेको थियो ।

अस्पतालमा गरिएको उक्त आक्रमणको विश्वभर भर्त्सना गरिएको थियो । बिबिसीको समाचार अनुसार उक्त आक्रमण बारे बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद्मा सम्बोधन गर्दै ‘युके सरकारलाई उक्त विस्फोट संभवत कुनै मिसाइल वा त्यसको कुनै हिस्साको कारण भएको हो भन्ने लागेको छ, जुन गाजा क्षेत्रबाट इजरायल तर्फ हानिएको थियो ।’ प्रधानमन्त्री सुनकले ब्रिटिस जासुसी विभागको विश्लेषणको आधारमा दिएको उक्त जानकारी दिएको उल्लेख गरे ।

इजरायलबाट गाजाको अन्य अस्पतालहरू निकट पनि बम खसाइएको खबरहरू आएका छन् । प्यालेटाइनी मिडियालाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले गाजाको सबै भन्दा ठुलो अल-शिफा अस्पतालका साथै अल-कुद्स र इण्डोनेशियन अस्पताल जजिक पनि विस्फोट भएको उल्लेख गरेको छ ।

यसैबिच इजरायलका राष्ट्रपति हार्जोगले ७ अक्टुबरमा इजरायली क्षेत्रमा आक्रमण गर्ने हमासका लडाकुहरूबाट रासायनिक हतियार बनाउने प्रविधिसँग सम्बन्धित दस्ताबेज बरामद भएको बताएका छन् । उनका अनुसार दस्ताबेजमा रासायनिक हतियार कसरी बनाउने भन्ने बारेमा विवरण उल्लेख छ ।