धरान : इजरायली सेनाले इजरायल-लबेनान सीमा क्षेत्र स्थित हिजबुल्लाका दुई गढहरूमा फाइटर विमानबाट बम आक्रमण गरेका जनाएको छ । बिबिसीको एक समाचार अनुसार उक्त आक्रमण सोमवार बिहानै गरिएको हो ।

गाजा क्षेत्रमा इजरायल र हमासमा भइरहेको युद्धका बिच लेबनानको सीमा क्षेत्रमा पनि इजरायल र हिजबुल्ला बिच दोहोरो हमला हुन थालेपछि हवाई आक्रमण गरिएको हो ।

इजरायली सीमा क्षेत्र स्थित सहर मटाट निकट हिजबुल्लाको एक गढ र अर्को विवादित क्षेत्र शेबा फर्ममा हवाई हमला गरिएको इजरायले जनाएको छ ।

इजरायल सेनाले जनाए अनुसार हिजबुल्लाको दुवै गढमा गरिएको हवाई आक्रमणबाट हिजबुल्लाको इजरायललाई लक्षित एन्टी ट्याङ्क र मिसाइलहरू तथा राकेटहरु प्रयोग गर्नु भन्दा अघि नै नष्ट गरिएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले लेबनानको दक्षिणी गाउँ एटारौनको बाहिरी क्षेत्रमा इजरायली हवाई हमला भएको समाचार दिदैं आक्रमणको पुष्टि गरेको छ । उक्त स्थान मटाटबाट १३ किलोमिटर उत्तर पूर्वमा पर्छ ।

उक्त समाचारमा इजरायली सेनाले बताएको हवाई हमलाकै हो होइन भन्ने स्पष्ट उल्लेख छैन । उक्त हमलामा मानवीय क्षति भए नभएको बारेमा कुनै जानकारी आएको छैन ।