धरान :  काठमाण्डौको गोठाटारमा प्रहरीले आज दिउँसो गोली प्रहार गरी भारतीय नागरिक मोहम्मद करिमलाई २०० ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ गर्न लाग्दा करिमले प्रतिकार गर्न खोजेकाले गोली प्रहार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । रेग्मीले भने ‘उनीसँग साथमा हतियार पनि रहेछ ।’

पक्राउ गर्न गएको प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि दाहिने तिघ्रामा गोली हानिएको एसपी रेग्मीले बताए ।

करिमले डिलरका रूपमा भारतको पश्चिम बङ्गालबाट लागूऔषध ल्याउने गरेको प्रहरी स्रोतले बतायो ।  उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन् । एसपी रेग्मीले भने ‘हर्क झापाका हुन, कारोबारी हुन वा होइनन् भन्ने अनुसन्धान भइरहेको छ ।’

लागूऔषधको कारोबारी हुनु र सेवनकर्ता हुनु कानुनी दृष्टिले फरक कुरा भएको उनले बताए । निकै महँगो मानिने ब्राउन सुगर एक सय ग्रामभन्दा बढी भेटिएको खण्डमा १५ वर्ष देखि जन्मकैद सम्मको सजाय हुने कानुनी प्रावधान छ । साथै ५ देखि २५ लाख रुपैयाँ सम्म जरिवाना हुन्छ ।

यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।