धरान : धरानको पर्यटन प्रवर्द्धन व्यापार खस्किएको अवस्थालाई टेवा पुर्याउन स्थानीय पर्यटन परिकार कला, व्यापार सहितको पाँच दिने धरान फुड फेस्टिभल मङ्गलवार देखि सुरु भएको छ ।
धरान-१४ स्थित हात्तीसार क्याम्पसको खेल मैदानमा सञ्चालन भएको हो । लामो समय देखि धरानमा फुड फेस्टिभल तथा मेलाहरूको आयोजना नभएका कारण धराने युवा पुस्ताहरू धरान बाहिर जाने गरेका कारण धरानको आर्थिक कारोबार बाहिरिने गरेको थियो सोही समय परिस्थितिलाई मध्यनजर गर्दै शुभ प्राथना मिडिया प्रालीले फुड फेस्टिभल आयोजना गरिएको प्रालिका अध्यक्ष चिरञ्जीवी खड्काले बताए ।
फेस्टिभलमा विभिन्न जातजातिहरूको मौलिक सांस्कृतिक खानाका परिकारहरूको साथै फुड फेस्टिभल स्थलमा ६० वटा स्टल रहेको छ भने बालबालिकाहरूको मनोरञ्जनका लागि बाल उद्यान समेत रहेको छ ।
पाँच दिन सम्म चल्ने सो फेस्टिभलमा स्थानीय कलाकारहरू तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय पर्यटन परिकार कला व्यापार प्रवर्द्धनको निम्ति धरान फुड फेस्टिभल भन्ने नाराका साथ आयोजना गरिएको सो महोत्सवले धराने जनतालाई आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिएको अध्यक्ष खड्काले बताए ।
फुड फेस्टिभलमा बुधवार साँझ साङ्गीतिक मनोरञ्जन दिन चर्चित गायिका प्रश्न्ना शाक्यको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।


































































