वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको तेस्रो संस्करणको कोशी प्रदेश स्तरीय कविता प्रतियोगितामा उदयपुरका गोठकृष्ण ठकुरी प्रथम भएका छन् । ठकुरीले 'माझी दाइ' शीर्षकको कविता प्रस्तुत गरेका थिए ।

आज सोमवार ११५ औँ महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा पूर्वेली साहित्यिक मञ्चले आयोजना गरेको उक्त प्रतियोगितामा सुनसरीका हेम सागर तिमिल्सिना (सुमेरु) दोस्रो भए । उनले ललित सपना शीर्षकको कविता प्रस्तुत गरेका थिए ।

त्यस्तै सुनसरीकी पुष्पा बोगटी तेस्रो भइन् । उनले 'कुल्चिएको धरातल' शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । प्रतियोगितामा सुनसरीकै केशव रिजाल सान्त्वना भएका थिए । उनले नजोतिएको हलो शीर्षकको कविता प्रस्तुत गरेका थिए।

प्रतियोगितामा प्रथम हुने कवि गोठकृष्णले नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुने कवि हेम सागरले ५ हजार, तेस्रो भएकी कवि पुष्पाले ३ हजार र सान्त्वना भएका कवि केशवले २ हजार सहित प्रमाण पुरस्कार स्वरूप प्राप्त गरेको आयोजक संस्था पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चौलागाईले बताए । उत्कृष्ट २० कविहरूको कविता वाचन पछि विजेता कविताहरू छनोट गरिएको थियो ।

आयोजक संस्था पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता र प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा सह-प्राध्यापक रमेश काफ्लेले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यको माध्यमबाट वराहक्षेत्रलाई चिनाउन सफल कवि प्रकाश दिप्साली राई र कवि छविना मगरलाई सम्मान समेत गरिएको थियो ।