बेइजिङ : सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको सङ्क्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो ।

कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको सङ्केत आइरहेको छ ।

चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को चिन्ता बढाइदिएको छ ।

यो रोग खास गरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ । तर यसको कयौँ लक्षणहरू निमोनियाभन्दा अलग छ । यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ । उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ ।

रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उत्तर पूर्वी बेइजिङ र लियाओनिब लगायत सहरहरूमा उपचाररत छन् । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ । यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो ।

कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो । यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ । बच्चाहरूबाट रोग वयस्कमा सरेको पनि नभेटिएको प्रोमेड अलर्टले बताएको छ । रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ ।

यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो । उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यस अघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ । डब्यूएचओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो ।