• निशा राई

धरान : लागुऔषध नियन्त्रण तथा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी १ दिने अभिमुखीकरण इटहरीमा सम्पन्न भएको छ ।

बुधवार इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको साझेदारीमा भ्वाईस अफ चिल्ड्रेन संस्थाको साइबर सेफ्टी परियोजना कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण तथा अनलाइनबाट हुने यौन दुर्व्यवहारको बारेमा इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा ९० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

बालबालिकाहरूको क्षमता अभिवृद्धि मार्फत सशक्तीकरण गरी अनलाइनबाट हुने यौनजन्य दुर्व्यवहारका घटनाहरू न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको भ्वाईस अफ चिल्ड्रेन संस्थाको साइबर सेफ्टी परियोजनाका कार्यकारी कर्मचारी प्रकाश परियारले बताए ।

बालबालिका मार्फत समाजका धेरै जना नागरिकहरूलाई बालबालिकाहरू माथि हुने शारीरिक, मानसिक तथा यौनजन्य दुर्व्यवहारका सूचना प्रवाह गर्न सकिने साथै बालबालिकाहरू लागुऔषधमा धेरै फस्ने भएकोले न्यूनीकरण गर्न सहयोग पुग्ने भएकोले बालबालिकाहरूका लागि सचेतना कर्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले लागुऔषध प्रयोग न्यूनीकरणका विविध पक्षहरूबारे बालबालिकाहरूलाई बताएका थिए । उनले बालबालिकाहरूलाई लागुऔषधमा नफस्न र यसले आफूलाई मात्र असर गर्ने नभई आफ, घर, परिवारलाई पनि असर गर्ने भएकोले यसमा नफस्न आग्रह गरे ।