इटहरी : नेकपा एमालेका नेता किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । एमाले पूर्व कोशी प्रदेश कमिटी सदस्य कार्की आइतबार राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका हुन् । अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका क्रममा धरानमा खटिएको बेला कार्कीलाई प्रवेश गराउने बारे छलफल गरेका थिए ।

पूर्वको प्रतिष्ठित पत्रीका ब्लास्ट दैनिकका प्रबन्ध निर्देशक कार्की एमाले धरानका प्रभावशाली नेताको रूपमा प्रचलित छन् । उनले राप्रपामा केन्द्रीय सदस्यको भूमिका पाएका छन् ।

गत स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको टिकट वितरणमा कार्कीले असन्तुष्टि जनाएका थिए । एमाले पार्टीले गलत निर्णय गरेको भन्दै धरानका पूर्व मेयर मनोज कुमार मेन्याङ्बोले प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दिए । मेन्याङ्बोको चुनावी प्रचारमा लागेका कार्की त्यसयता स्वतन्त्र भूमिकामा थिए ।

प्रगतिशील पार्टीबाट पुरातनवादी पार्टीमा प्रवेश गर्नुको कारण बारे कार्की समयको माग भएको बताउँछन् । कपुरी न्युज सँग कुरा गर्दै उनले भने, "अहिलेको व्यवस्थाले जनतामा निराशा मात्र दिएको भन्दै संवैधानिक राजतन्त्रको आवश्यकता छ ।"

धरानमा देखिएको सामाजिक सद्भाव भड्काउने प्रयत्नका विरुद्ध अब अभियान चालिने बताए । सामाजिक र धार्मिक सद्भाव कायम राखेर राजनीतिक परिवर्तनको पक्षमा आफू रहेको उनको भनाइ छ ।