धरान : गएको स्थानिय तहको निर्वाचनमा धरान उपमहानगरपालिका वडा ६ वाट अध्यक्ष पदमा निर्वाचित भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले पानवारीमा हिजो बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलामा वडाध्यक्ष भट्टराईलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्र उम्मेदवार बनेका भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत प्राप्त गरेका थिए ।

भट्टराई नेपाली काँग्रेसका कार्यकर्ता थिए । चुनावमा काङ्ग्रेसबाट वडाध्यक्षको दाबेदार उनले टिकट नपाएपछि विद्रोही प्रत्याशीका रूपमा उनले उम्मेदवारी दिएका थिए । 

निर्वाचनपछि उनी काँग्रेसमा पुनः प्रवेश गर्ने अड्कल गरिएको थियो । काँग्रेसमा आपसी गुटबन्दीका कारण रोकिएका उनी अन्ततः राप्रपामा प्रवेश गरेका हुन ।

वडाध्यक्ष भट्टराई राप्रपामा प्रवेश गरेपछि धरान उपमहानगरपालिका कार्यपालिकामा राप्रपाका २ सदस्यको उपस्थिति हुनेछ । यसअघि धरान-१४ बाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई मात्र कार्यपालिकामा राप्रपाका सदस्य थिए ।

वडाध्यक्ष कृष्ण भट्टराई पनि नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि राप्रपामा प्रवेश गरी हलो चिन्हमा निर्वाचित भएका थिए ।