धरान  : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख समेत रहेका प्राध्यापक उद्धव श्रेष्ठ र उद्योगी पवन कुमार अग्रवाल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेका छन्। सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अग्रवाल र प्राध्यापक श्रेष्ठले राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर पार्टी सदस्यता लिएका हुन् । 
केन्द्रीय संयोजित सङ्गठन समन्वय विभागका सदस्य लक्ष्मण बस्नेतका अनुसार लामो समय एमालेमा रहेका उद्योगी र प्राध्यापकलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवेश गराएका हुन् । दुई विद्धान र प्रभावशाली व्यक्तिको प्रवेशले राप्रपा थप चलायमान हुने उनको विश्वास छ । 
धरानका विभिन्न क्याम्पसका प्राध्यापकहरू समेत पार्टी प्रवेशमा इच्छुक रहेकाले चाडै वृहत् पार्टी प्रवेश कार्यक्रम राखिने उनले बताए । धरान १४ का नेपाली काँग्रेसका युवा नेता विजय कोइरालाले समेत राप्रपा प्रवेश गरिसकेको उनले जानकारी दिए । 
पछिल्लो समय अध्यक्ष लिङदेन प्रति जनताको आकर्षण र विश्वास बढ्दै गएको बस्नेतले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पार्टी प्रवेशको लहर बढेको उनको भनाई छ ।  
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका नेता तथा निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र धरान १४ मा नेपाली काङ्ग्रेसबाट निर्वाचित निवर्तमान वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईलाई राप्रपाले उम्मेदवार बनाएको थियो ।
uddhab-shrestha