काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
फ्लाई दुबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो तौल भएका सुनका ७ वटा बिस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले बताए ।
सुन ल्याउन लगाउने मीन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उनले जानकारी दिए । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
डिआइजी चन्दका अनुसार, गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् । ‘उनलाई सुन ल्याउने भरियाका रूपमा मात्र केही अघि दुबई पठाइएको देखिन्छ’, चन्दले भने, ‘अस्कोटमा लुकाएर उनले सुन ल्याएका थिए ।’
प्रहरीका अनुसार, घले गए राति (बिहीबार) ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने बित्तिकै पक्राउ गरेको हो ।
थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशङ्कामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।
यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेटमा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।
यी तस्करी प्रकरणहरूबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।