धरान : त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामा जाने आङ्गिक क्याम्पसहरू मध्ये पहिलो नम्बरमा रहेको धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस पछिल्लो समय स्वायत्तता सम्बन्धी सहमतिमा त्रिविको हस्तक्षेप, बजेट कटौतीको मारमा परेको छ ।
२०६९ सालमा दशक अघि स्वायत्ततामा गएको क्याम्पसको सञ्चालक समिति बैठकहरूमा विकासको कुरा उठ्दा पछिल्लो समय त्रिविको नीतिकै चर्चा हुन्छ । यसपालि सोमवार बसेको २५ औँ बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि छुटेन ।
सहायक क्याम्पस प्रमुख प्रा.बबिता अभिकारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ‘क्याम्पस स्वायत्ततामा जाँदा गरेको सहमतिहरूमा विश्वविद्यालयले हस्तक्षेप गरेर बजेट कटौती गरिरहेको छ । यस कारण क्याम्पसको विकास, निर्माणका कामहरू रोकिएका छन् ।’
त्रिवि राजनीतिक दलदलमा फसेकाले पहुँच र प्रभावको भरमा क्याम्पसहरूले योजना र बजेट पाउने प्रथाका कारण क्याम्पस सञ्चालन गर्न कठिन भएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा विश्वविद्यालयले स्वायत्तताको नियमलाई गोजीमा राखेको उल्लेख छ ।
पछिल्लो समय कोरोना महामारीको मारबाट उठ्न नपाउँदै विश्वव्यापी आर्थिक मन्दीको प्रभावले शैक्षिक क्षेत्रलाई विश्रृंखलित बनाएको अवस्थामा पनि सीमित साधन र श्रोत परिचालन गरेर क्याम्पसले शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकासको गतिलाई कायम राख्दै आएको नीति कार्यक्रममा बताइएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्राडा धनबहादुर कार्कीले भने ‘स्वायत्तताको अभ्यासमा क्याम्पसले पाएको अभिकार प्रयोग गर्ने अभ्यास गर्न पनि प्रयास गर्नुपर्छ ।’ त्रिविले स्वीकृत गरेको बजेटमा किञ्चित पनि संशोधन नहुने कुरा स्वायत्तता नभएको बताउँदै आवश्यक परेको अवस्थामा संशोधन प्रस्ताव स्वीकृत गराएर पनि क्याम्पसको हितमा कार्य गर्नुपर्ने बताए ।
बैठकले यसअघि बजेट मस्यौदा सञ्चालक समितिमा छलफल नभई त्रिविमा प्रस्तुत गर्ने गरिएकोमा क्याम्पसका हितका लागि बजेट मस्यौदा सञ्चालक समितिमा छलफल गरेर मात्र स्वीकृत गराउन सुझाव दिएको छ ।
बैठकमा भौतिक पूर्वाधारको विकासका बारेमा छलफल भएको थियो । क्याम्पसको खाली जग्गामा बोटानिकल गार्डेनको विकास गर्ने योजना अघि बढेपनि बजेटको अभावले पुरा हुने छैन । गार्डेन सहित क्याम्पसलाई शैक्षिक पर्यटनका लागि आकर्षक बनाउने कार्यहरू पनि भएका छन् ।
क्याम्पसको मुख्य शैक्षिक भवन प्रवेशद्वारमा आकर्षक घण्टाघर निर्माण भएको छ । क्याम्पस प्रमुख दिलकुमार लिम्बुको परिवारद्वारा ३२ लाख रुपैयाँको लागतमा घण्टाघर निर्माण भएको हो । पछिल्लो पटक क्याम्पस प्रवेश परिसरमा अवस्थित ‘एलिफेन्ट पार्क’ हात्तीको प्रतिमा वरिपरि दाताहरूको सहयोगमा विश्राम स्थल निर्माण गरी क्याम्पसका संस्थापक पूर्व डिन प्राडा पराशर नारायण सुवाल पार्क स्थापना गरिएको छ ।
क्याम्पसका छात्राहरूका लागि छात्रावास भएपनि छात्रहरूका लागि थिएन । गतःवर्ष यता छात्रहरूका लागि छात्राबास निर्माण गरिएको छ । छात्रबासमा क्यान्टिन हाल निर्माणाधीन अवस्थामा छ । विभागीय कार्यालय, कक्षा, ल्याब तथा भवनहरूलाई आधुनिक बनाउन, फर्निचर नि मर्मत सम्भारका कार्य चलिरहेका छ ।
क्याम्पस क्षेत्रलाई चट्याङ प्रतिरोधी बनाउन उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । यसको लागि धरान-१४ वडा कार्यालयले चालु आर्थिक वर्ष भित्र उपकरण जडान गरिदिने बैठकमा सहभागी वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रतिबद्धता जनाएका छन् ।
बैठकमा क्याम्पसमा भएका खाद्य प्रविधिका प्लान्टहरूबाट प्रयोगात्मक खाद्यवस्तु उत्पादनलाई व्यवसायीक प्रयोग गरी आय आर्जन गर्ने विषय पनि प्रस्ताव गरिएको थियो । तत्काल चालु अवस्थामा रहेको आइसक्रिम उत्पादन विक्री वितरण गर्ने तयारी गर्ने निर्णय गरिएको छ ।
यसगरी क्याम्पसले खानेपानी उत्पादन, प्रशोधन गरी बजारीकरण गरी आयआर्जन गर्ने योजना पनि बनाएको छ । तर बजेट अभावका कारण कार्यान्वयन हुन सकेको छैन ।
क्याम्पसमा विद्यमान विज्ञ जनशक्तिबाट परीक्षण, परामर्श सेवालाई सरोकारवाला सरकारी, गैरसकार तथा नीति संस्थाहरूका लागि व्यवसायीक रूपमा सञ्चालन गर्दै आयआर्जन गर्ने योजना पनि कार्यान्वयनमा चरण रहेको बैठकमा जानकारी गराइएको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि क्याम्पस, स्नातकोत्तर एमएस्सी कार्यक्रमका लागि पोषण तथा खाद्य विज्ञानको पाठ्यक्रम निर्माण गर्ने क्रममा रहेको छ । क्याम्पसमा बीटेक र बीआइटीको विद्यार्थी कोटा बढाइने तयारी गरिएको छ । डिजेरेशनका लागि उपकरण सहितको ल्याब कक्ष बनाउने कार्य भइरहेका छ ।
स्टुडेण्ट क्वालिटी सर्किललाई प्रभावकारी बनाउने, शैक्षिक उद्देश्यका विविध विषयगत सेमिनारहरू आयोजना गर्ने, कक्षगत, विषयगत शिक्षणको समीक्षा गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिइएको छ ।
बैठकको सभापतित्व सञ्चालन समिति अध्यक्ष प्राडा धन बहादुर कार्कीले गरेका थिए । बैठकले क्याम्पसको खाली जग्गा लिजमा दिने प्रस्तावलाई अस्वीकृत गर्यो । बैठक सञ्चालन क्याम्पस प्रमुख तथा सदस्य सचिव डा. दिल कुमार लिम्बुले गरेका थिए । सहजीकरण सहायक क्याम्पस प्रमुख उपप्रा कामना बान्तवाले गरेकी थिइन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट लेखा प्रमुख आर्थिक नियन्त्रक सुरेस सुबेदीले प्रस्तुत गरे ।
बैठकमा सामान्य प्रशासन प्रमुख महेश कोइरालाले प्रस्तुत गरेको कार्यकारी समितिले गरेका अघिल्ला निर्णयहरू सर्वसम्मतिबाट अनुमोदन भएको छ । बैठकमा सञ्चालक सदस्यहरू वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, सूर्य पग्धाक, हर्ष सुब्बा, स्ववियु सभापति अविनभ गुरागाईँ, प्राध्यापक सघ सभापति उपप्रा हेमन्त खनाल, उपप्रा कवीन्द्र भट्टराई, दल बहादुर कठैत उपस्थित थिए ।
विश्वविद्यालय अनुदान आयोग प्रतिनिधि राममणि गौतम, प्राध्यापक सघ सभापति हेमन्त खनाल, मिलन खरेल तथा प्राडा ईश्वर कोइराला भर्चुअल जुमबाट सहभागी भएका थिए ।







































































