धरान : खोटाङका ज्येष्ठ नागरिक किसानहरूले जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गइरहेकोले कृषकहरूलाई आयआर्जनका लागि खेर गइरहेका फलफूलहरूबाट स्थानीय मदिरा उत्पादन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

एमालेको सङ्कल्प यात्रामा खोटाङ पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार अनुरोध पत्र बुझाउँदै उक्त माग गरेका हुन ।

अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले आयात बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन माग गरिएको छ । स्थानीय मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था गर्न अनुरोध गरिएको हो ।

सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव र राम ताम्राकारले बुझाएको पत्रमा मदिरा उत्पादनका लागि प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय वोट सम्म रोप्ने, बिरुवा औषधि प्राविधिक सहायता वन कृषि कार्यालय र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्थाको पनि माग गरिएको छ ।

पत्रमा नदी, खोला किनारमा बाह्रै महिना खेती हुने खेतीयोग्य जमिन बाझै रहेको उल्लेख गर्दै त्यस्तो जमिनको उपयोग गरिनु पर्ने उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकसँगको भेटघाटमा ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको, आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए ।