धरान : कोशी प्रदेश फुटबल सङ्घद्वारा आयोजित प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो गोल अन्तरले जित हात पारेको छ ।
धरान-१७ एन्फा एकेडेमी टेक्निकल सेन्टरको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू स्टार क्लब सुनसरीले ध्रुवतारा स्पोर्टिङ क्लब दमक झापालाई ५-१ गोलको फराकिलो जित हात पारेको हो ।
न्यु स्टार क्लबबाट क्षितिज धामीले २ गोल, सुस्मित बस्नेतले २ गोल र रोजन राईले थप १ गोल गरेका थिए । धुव्रताराका हेमन्त राईले खेलको ३१ औ मिनेटमा १ गोल गरे । त्यस बाहेक ध्रुवताराबाट कुनै गोल भएन ।
खेलको म्यान अफ द म्याच न्यू स्टार सुनसरीका सुशान्त चौधरी घोषित भए । पौष ६ गते सम्म चल्ने प्रतियोगिताको शुक्रवार हुने खेल राष्ट्रिय जागृति क्लब सुनसरी र मिल्स भेट्रान क्लब मोरङ बिच हुनेछ ।
प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन् ।
प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।