धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको चौथो दिन भएको खेलमा धरान फुटबल क्लब सुनसरीसँग उर्लाबारी नगरपालिका मोरङ ५-२ गोलले पराजित भएको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा शनिवार भएको खेलमा धरान फुटबल क्लबबाट पहिलो १ गोल सुमन विकले गरेका थिए । यसैगरी प्रीन्स लिम्बुले २ गोल र अर्को १ गोल अयुप लिम्बु गरेका थिए । दोस्रो हाफमा नवीन खत्रीले १ गोल थपे ।

उर्लाबारी नगरपालिका फुटबल क्लबबाट भूपेश धिमालले २ गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका उपकप्तान एलेन थापामगर घोषित भए । पुस ६ गते सम्म चल्ने प्रतियोगिताको आइतबार हुने खेल राष्ट्रिय जागृति क्लब सुनसरी र झापा नेशनल एकेडेमी झापा बिच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।