धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता तेस्रो दिनको खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीले फराकिलो गोल अन्तरमा मिल्स भेट्रानलाई हराउँदै जित हात पारेको छ ।

धरान-१७ एन्फा एकेडेमीको टेक्निकल सेन्टरमा शुक्रवार भएको खेलमा राष्ट्रिय जागृति क्लबले मिल्स भेट्रान क्लब मोरङलाई ६-१ गोलको फराकिलो अन्तरमा पराजित गर्दे खेल जितेको हो ।

आजको खेलमा राष्ट्रिय जागृतिका सुमन तामाङले ३ गोल गरे । सुदिप कुमार श्रेष्ठले १ गोल गरे । यसैगरी सनराज गुरुङले १ गोल र अर्को १ गोल बिकी चौधरीले थपेका थिए । मिल्स भेट्रान क्लबबाट १ मात्र गोल गौरव शर्माले गरेका थिए ।

खेलको म्यान अफ द म्याच राष्ट्रिय जागृतिका सुमन तामाङ घोषित भए । पुस ६ गते सम्म चल्ने प्रतियोगिताको शनिवार हुने खेल उर्लाबारी नगरपालिका फुटबल क्लब मोरङ र धरान फुटबल क्लब सुनसरी बिच हुनेछ ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन्  ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

Anfa President Cup 1