धरान : धरान-१३ बाल सञ्जालको आयोजनामा भएको २ दिने पिबिए बास्केटबल प्रतियोगिताको च्याम्पियनको उपाधि पिबिए पोसिबल बास्केटबल एकेडेमीले चुमेको छ । पिबिएले प्रतियोगिताको संयोजन पनि गरेको थियो ।

दोस्रो पिबिए महिला पुरुष बास्केटबल प्रतियोगितामा पिबिएले महिला तर्फ धरान-५ टिमलाइ ७-२ र पुरुष तर्फ धरान-१७ लाई १६-९ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

महिला र पुरुष तर्फका विजेता पिबिएले नगद ५ हजार र उपबिजाते धरान ५ र धरान १७ ले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको एमभिपी ९ मोस्ट भ्यालुएबल प्लेयरको उपाधि महिला र पुरुष तर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित भए ।

२९ र ३० गते भएको प्रतियोगितामा महिला तर्फ ७ र पुरुष तर्फ ५ टिम सहभागी थियो । सहभागी टिमहरूमा महिला तर्फ पिबिए धरान-१३, सुनगाभा स्कुल, धरान ५, ११, ९, ६ र १९ वडा थियो । पुरुष तर्फ पिबिए, धरान १७, १६, ९ र ११ वडाका टिम सहभागी थियो ।

प्रतियोगिताको फाइनल खेल अघि सुनसरी बास्केटबल भेट्रान र धरान-१३ स्पोर्टिङ बिच भएको मैत्रीपूर्ण बास्केटबल खेलमा सुनसरी भेट्रान २२-१४ अङ्कले विजयी भयो । खेलमा भेट्रान तर्फका विकास चाम्लिङ राईले व्यक्तिगत १४ अङ्क जोडेका थिए ।

समापनमा प्रमुख अतिथि वडा १३ का सदस्य तारा गोले तामाङ, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल सङ्घ उपाध्यक्ष रोशन राई, हरियाली बास्केटबल प्रशिक्षक रञ्जित लिम्बू उपस्थित थिए । प्रतियोगिता धरान रङ्गशाला इनडोर बास्केटबल कोर्टमा भएको हो ।

PBA Championship 2