इटहरी : तामाङ जातीको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको चलचित्र ‘चारदाम’को पहिलो प्रदर्शन शनिवार इलाईट सिनेमा हलमा भएको छ ।

दर्शकहरूका भिडका कारण सिट नपाएर भुईँमै बसेर चारदाम हेर्दै गरेको देखियो । यसले चार दाम चलचित्र लोकप्रिय बनेको साबित गरेको छ । प्रदर्शन अघि ‘चारदाम’ निर्माणमा सहयोग पुर्याउने व्यक्ति, संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कोशी भिजन फिल्मस प्रालीको ब्यानरमा बनेको चलचित्र धेरै राम्रो बनेको दर्शकहरूले बताएका छन् । यसअघि यही टिमले निर्माण गरेको ‘अभियान’ चलचित्र भन्दा निकै राम्रो बनेको उनीहरूले बताएका छन् ।

मोहन लोप्चन तामाङको प्रस्तुति चारदाम लाखमन योन्जन तामाङको लेखन, निर्माण, अभिनय तथा निर्देशन रहेको छ । चलचित्र अब काठमाडौँ, पोखरा, भोजपुर, धरान, बेलबारी लगायतका ठाउँमा प्रिमियरको तयारी भइरहेको निर्माण युनिटले जनाएका छन् ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । चारदाममा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । फिल्ममा दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् । चारदाममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको छ । शृङ्गार अशोक मण्डलले गरेका छन् ।

Chaardham 2