धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको छैटौँ दिनको खेलमा गाईघाट फुटबल क्लब उदयपुरसँग धरान फुटबल क्लब सुनसरी ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको क्वाटर फाइनल खेलमा गाईघाट फुटबल क्लबका अरुण अधिकारीले २ गोल गरे । अमर लायोले १ गोल, आयु अधिकारीले १ गोल गरे । खेल अवधिमा धरान फुटबल क्लबका सुमन विकले मात्र १ गोल गरे ।

निर्णायकको छनौटप्रति विजेता टिमले प्रोटेष्ट गरेकाले आजको खेलमा म्यान अफ द म्याच घोषणा भएन ।

पुस ६ गते सम्म चल्ने प्रतियोगिताको मङ्गलवार हुने सेमिफाइनल खेल न्यु स्टार फुटबल क्लब वराहक्षेत्र र राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी बिच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।