धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको पाचौं दिनको खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीसँग झापा नेशनल एकेडेमी ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको क्वाटर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीका सुदिपकुमार श्रेष्ठले २ गोल गरे । जागृतिकै एलोन जिमिले १ गोल, सनराज गुरुङले १ गोल र बिक्की चौधरी, जयबिन चौधरी, सुमन तामाङले पालैपालो १/१ गोल गरेका थिए । झापा नेशनल एकेडेमीले खेल अवधिभर एक गोल पनि फर्काउन सकेन ।

खेलको म्यान अफ द म्याच राष्ट्रिय जागृति क्लब सुनसरीका एलेन जिमी घोषित भए । पुस ६ गते सम्म चल्ने प्रतियोगिताको सोमबार हुने क्वाटर फाइनल खेल धरान फुटबल क्लब सुनसरी र गाईघाट फुटबल क्लब उदयपुर बिच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

man-of-the-match