धरान : उद्योग, व्यापार, व्यवसाय कोरोना महामारीपछि विश्वव्यापी मन्दीबाट प्रभावित भएको अवस्थामा नेपालका र्बैंंकहरुको अस्पष्ट नीति, चर्को व्याजका कारण उद्योगी, व्यवसायी थप मारमा परेको छन् ।

बैङ्ककै कारण साना उद्योगी, व्यवसायीहरूले आर्थिक मारका कारण व्यवसाय बन्द गर्नु पर्ने अवस्था सम्म आएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताएका छन् ।

उनले भने ‘बैङ्कले चर्को व्याज लगाउनुका साथै असुलीको नाममा मानसिक तनाव दिने, व्यवसायीलाई मागे जति लगानी नगरेका कारण साना तथा मझौला उद्योगी व्यवसायी बढी मारमा परेका छन् ।

अध्यक्ष श्रेष्ठले उक्त कुरा सोमवार भएको धरान वितरण सङ्घको आठौँ साधारण सभामा बताएका हुन । उनी सभामा विशिष्ट अतिथि थिए । उनले देशको अर्थतन्त्र चलायमान राख्न व्यवसायीको ठुलो हात छ, तर सरकार र बैङ्कहरूले व्यवसायीहरूको हितमा कहिल्यै बलियो भएर काम नगरेको बताए ।

धुलिखेल समाजमा भएको साधारण सभाको उद्घाटन समारोहमा पुराना व्यवसायी विज्ञान गोविन्द श्रेष्ठ र कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल वितरक महासङ्घका अध्यक्ष हरिप्रसाद पन्तलाई अभिनन्दन गरियो ।

सङ्घका महासचिव राम बहादुर श्रेष्ठले संस्थाको प्रगति विवरण, संस्थामा आएका समस्या समाधान तथा अबको कार्यदिशा समेटिएको कार्ययोजना सहित प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष अमित अग्रहरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

उक्त अवसरमा सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गरिधारी सापकोटा, वितरक सङ्घका केन्द्रीय उपाध्यक्ष टङ्कप्रसाद खनाल लगायतले व्यवसायीको समस्या र समाधानका उपायको चर्चा गरे । अध्यक्षता धरान वितरक सङ्घका अध्यक्ष नवीन तामाङले गरेका थिए। सञ्चालन सन्तोष अग्रवालले गरेका थिए ।

Bitarak-sang-news-2