वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलङ्का टप्पुमा मङ्गलवार बृहत् स्वास्थ्य शिविर आयोजना भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालय, नेपाल प्रहरी श्रीमती सङ्घ र नेपाल प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा उक्त शिविर आयोजना भएको हो ।
शिविरमा स्थानीयहरूलाई जेनेरल फिजिसियन, स्त्री रोग, प्रसूति जाँच तथा भिडियो एक्सरे सेवा, हाडजोर्नी तथा नशा रोग जाँच सेवा, बाल रोग जाँच सेवा त्यस्तै युरोलोजिष्ट सेवा ( पिसाब सम्बन्धी रोग ), नि-शुल्क शल्यक्रिया तथा औषधि वितरण सहित आँखा जाँच सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले चेक जाँच, परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको सभाध्यक्षयतामा आयोजना भएको स्वास्थ्य शिविर कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुवर रहेकी थिइन् । कार्यक्रममा कोसी प्रदेश सभा सदस्य माननीय सदान्द मण्डल, नेपाल प्रहरी श्रीमती सङ्घकी उपाध्यक्ष रुपा थापा, नेपाल प्रहरी श्रीमती सङ्घ कोसी प्रदेश अध्यक्ष हरिता देवकोटा बास्तोला त्यस्तै प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ, वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवार, इनरुवा नगरपालिकाकी उप-प्रमुख विनीता मेहता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निपिन्न रेग्मी, जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, वडा नं ६ का अध्यक्ष उद्धव पोखरेल, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता लगायतको आतिथ्य रहेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनत्व प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले राखेका थिए ।
स्थानिय टप्पुवासीहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत टाढा रहेकाले शिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । टप्पुमा आधारभूत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको र शिक्षा, खानेपानी, सुरक्षा, सिचाई, यातायातसँगै स्वास्थ्य लगायतको कुरामा नगरपालिकाले योजना बनाएर काम गर्ने कार्कीले बताए । उनले भने," शिविर आयोजना गरेर स्वास्थ्य सम्बन्धी सचेतना र जनचेतना बढाउन खोजेका हौ । ग्रामीण बस्तीमा स्वास्थ्य शिविर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेका छौ ।"


































































