धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको आज बुधवार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुर २-० गोलले न्यु स्टार फुटबल क्लब सुनसरीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा गाईघाट फुटबल क्लबका अरुण अधिकारीले पहिलो गोल गरेका थिए । दोस्रो गोल सुनिल सुरखेतीले गरे । खेल अवधिभर न्यु स्टार फुटबल क्लबबाट कुनै गोल भएन ।

खेलको म्यान अफ द म्याच न्यु स्टार क्लबका क्षितिज धामी घोषित भए । उनले नगद १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

गाईघाट फुटबल क्लबको जितसँगै पुस ६ गते शुक्रवार हुने फाइनल खेलमा अल स्टार क्लब सुनसरी र गाईघाट फुटबल क्लब उदयपुर बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । अल स्टार हिजो भएको पहिलो फाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।