इटहरी : कोशी प्रदेश सभाले तेस्रो सभामुख पाउने भएको छ । बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारे सँगै सभामुखको प्रक्रिया सुरु भएको हो  ।
सत्तारुढ दलकै समर्थनमा राप्रपाका विष्ट सभामुख बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले औपचारिक निर्णय भई नसकेको बताए पनि विष्ट सभामुख हुने सङ्केत गरिसकेका छन् । नेता सिटौलाले दलका ज्येष्ठ सदस्य विष्टको नाम सभामुखमा प्रस्ताव गरेका छन् । राप्रपा र सत्ता गठबन्धनले विष्टलाई सर्वसम्मत सभामुख बनाउने देखिएको छ । 
नेकपा एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजे पनि सत्तारुढ दलहरूले राप्रपालाई समर्थन गर्ने भएका छन् । सर्वसम्मत रूपमा सभामुख चयनको लागि प्रमुख प्रतिपक्षी दल एमाले सँग छलफल गर्ने सत्तारुढ दलको तयारी छ । 
सङ्घीयताको विरोध जनाउँदै आएको राप्रपाले कोशी प्रदेशसभाको नेतृत्वमा पुग्ने भएको छ । सङ्घीयताको खारेजी, राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै आएको राप्रपा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको प्रदेशसभाको नेतृत्वमा पुग्ने भएको हो । 
कोशी प्रदेशसभाको अङ्कगणितमा निर्णायक अवस्थामा रहेको राप्रपाले गणतन्त्रवादीको साथ पाउने भएको छ । गणतन्त्रवादी दलहरूमा एकता नभएपछि राजतन्त्रवादी दल राप्रपाले सभामुखको जिम्मेवारी पाउने पक्का भएको छ । 
यसअघि कोशी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदीप कुमार भण्डारीले पुरा समय सभामुखको कार्यभार चलाए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मीलित पार्टी नेकपाको बहुमत भएको अवस्थामा भण्डारी सभामुख भएका थिए । 
प्रदेशसभाको दोस्रो कार्यकालमा एमाले र माओवादीकै संयुक्त सरकार गठन भयो । सोही अनुसार मुख्यमन्त्री एमालेले लिएपछि सभामुखमा माओवादीका बाबुराम गौतम चयन भए । पछि राजनीतिक समीकरण परिवर्तन भए पनि एमाले सरकारबाट बाहिरियो । माओवादी र नेपाली काँग्रेसको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि प्रदेशमा पनि सत्ता समीकरण फेरबदल भयो । 
कोशी प्रदेश सभामा एमाले र राप्रपा बाहेक बहुमत नपुगेपछि साउन १६ गते काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन गौतमले राजीनामा दिए । गौतमको राजीनामा पछि थापा मुख्यमन्त्री भए तर उनले विश्वासको मत पाउन सकेनन् । थापा पछि कोशीको मुख्यमन्त्रीमा पुनः एमालेका हिक्मत कुमार कार्की चयन भए । कार्कीले पनि विश्वासको मत पाउन नसकेपछि केदार कार्की मुख्यमन्त्री चयन भए । 
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले दुई तिहाइ सांसदको समर्थन सहित विश्वासको मत पाइसकेका छन् । सरकार गठनमा लामो समय रस्साकस्सी भोगेको कोशी प्रदेश सभामुख विहीन छ । सोही रिक्तता पूर्तिको लागि बुधवारबाट प्रक्रिया सुरु भएको हो । सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ । 
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले राप्रपालाई सभामुखको प्रस्ताव गरेको बुझिएको छ । प्रदेश सभामा काँग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । एमालेले समर्थन नगरेको अवस्थामा पनि राप्रपा सांसद विष्ट सभामुख बन्ने पक्का छ ।