इटहरी : इटहरी उपमहानगरपालिकामा वृद्धि भएको राजस्व, शुल्क तथा दस्तुर घट्ने भएको छ । उपमहानगरपालिकाको १३६ औ कार्यपालिका बैठकले वृद्धि भएको कर समायोजन गर्ने निर्णय गरेको हो ।

कर वृद्धिको विरोधमा आन्दोलन भएपछि कार्यपालिका सदस्य उमेश सुवेदीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो । समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि सुवेदीले एकल हस्ताक्षर गरेर राजस्व परामर्श समितिलाई प्रतिवेदन बुझाएका थिए। सोही प्रतिवेदन अघिल्लो कार्यपालिकामा उपमेयर सङ्गीता चौधरीले पेस गरेकी थिइन् ।

बुधवारको कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले सो प्रतिवेदनलाई स्वीकार गरेर कर समायोजन गर्ने उद्घोष गरे । प्रतिवेदनमा उल्लेख भएका विषयलाई आगामी नगर सभामा पेस गरेर कर समायोजन गर्ने उनको भनाइ छ ।