इटहरी : इटहरी उपमहानगरपालिकामा वृद्धि भएको कर समायोजन र पुनरावलोकन गर्न गठित समितिले समय सीमा भित्र काम गर्न सकेन । भदौ मसान्त भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी सहित साउन २६ को कार्यपालिका बैठकबाट गठन भएको समितिले कुनै पनि ठोस निचोड निकाल्न नसकेको हो ।

समितिले आर्थिक ऐन २०८० अनुसार करका दर, सेवा शुल्क र दस्तुरको अध्ययन गरी समायोजन वा पुनरावलोकनको लागि राजस्व परामर्श समिति मार्फत उपमहानगरलाई बुझाउनु पर्ने कार्यादेश पाएको थियो । राजस्व वृद्धिमा विरोध सुरु भएपछि समिति गठन गर्न उपमहानगरपालिका बाध्य भएको हो ।

वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा गठित समितिमा अन्य वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभात कुमार आचार्य सदस्य छन् । त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेश प्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको हो ।

समितिका सदस्य सचिव रहेका राजस्व शाखाका अधिकृतले सन्तोष ढकालले प्रतिवेदनको ढाँचा समेत तयार नभएको बताएका छन् । बारम्बार बैठक तथा छलफल भए पनि यकिन निष्कर्षमा नपुगिएको उनले जानकारी दिएका छन् । खास कुन विषयमा कर घटाउने हो वा कुन कुन शीर्षकका कर समायोजन गर्ने भन्नेबारे कार्यादेश नभएको उनले बताए ।

विज्ञको रूपमा समितिमा सहभागी पोषराज नेपाल उपमहानगरपालिकाले खास कुन विषयमा कर समायोजन गर्न खोजेको भन्ने यकिन हुन नसकेको बताएका छन् । कर समायोजन गर्दा वा घटाउँदा आन्तरिक आयमा असर गर्ने देखी बजेट विनियोजनका शीर्षकहरू प्रभावित हुने भएपछि निष्कर्षमा पुग्न नसकिएको उनले बताए ।

इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत समेत रहेका गणेश प्रसाद दाहाल समितिले पाएको जिम्मेवारीलाई समयमा नसकिएकोमा दुख व्यक्त गरे । कार्यपालिकाले समग्र हिसाबमा काम गर्ने कार्यादेश दिएको भए पनि समितिका सदस्यहरूको कार्यव्यस्तताले कार्यसम्पादन पुरा हुन नसकेको उनको भनाइ छ ।

समितिका सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल केही दिन भित्र सम्पूर्ण वडाध्यक्षहरू सँग परामर्श गरेर प्रतिवेदन तयार पारिने बताउँछन् । ७ दिनको म्याद थप गर्ने बारे कुरा भइरहेको बताउँदै उनले वडाध्यक्षहरूको राय र सल्लाहका आधारमा अगाडी बढिने बताए ।

समितिका संयोजक सुवेदीले यसअघि नगर प्रमुख बाट कार्यादेश नपाएको कारण बैठक र परामर्शमा ढिला भएको बताएका थिए । हाल समय सीमा सकिएपछि समितिको काम कारबाही बारे बुझ्न फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

इटहरीमा कर वृद्धिको विरुद्धमा नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायबाट आन्दोलन भएको थियो । नागरिक समाज समितिले घर समायोजन गर्ने बताएपछि आन्दोलनबाट पछि हट्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने इटहरी उपमहानगरपालिकाको गेट अगाडी हरेक दिन प्रदर्शन गरिरहेको छ । कर वृद्धिको विरोधमा निरन्तर खबरदारी गरेको रास्वपा कर घटाउनुपर्ने अडानमा छ । नेकपा एमालेले कर समायोजन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको भए पनि अहिले मौन देखिएको छ ।