विराटनगर : विराटनगर महानगरपालिकाले १७ करोड रुपैयाँ लागत स्टिमेट रहेको प्रधानमन्त्री पार्क निर्माणको कार्यलाई तीव्रता दिएको छ । बहुवर्षीय योजनाको रूपमा निर्माणाधीन पार्क विराटनगर-४ मा बन्न लागेको हो ।

महानगरपालिकाको बहुवर्षीय योजनामा प्रधानमन्त्री पार्क सहित ४ करोड माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरपालिका प्रशासनिक भवन, बहु प्राविधिक विद्यालय लगायतको निर्माण कार्य धमाधम भइरहेको छ ।

निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान गर्न मेयर नागेश कोइरालाले स्थलगत रूपमा अनुगमनलाई तीव्र बनाएका छन् । प्रधानमन्त्री पार्क निर्माण स्थल क्षेत्र विराटनगर-४ धावा बन्दी (इक्राही) स्थित सडक निर्माणमा जग्गा विवाद उत्पन्न भई सडक निर्माण अवरुद्ध भएको छ ।

मेयर कोइराला सहितको अनुगमन टोलीले बुधवार निर्माण स्थलमै पुगेर स्थानीय सरोकारवालाहरूसँग छलफल गर्‍यो । महानगरपालिकाको प्राविधिकले नक्सा अनुसार नापेर छुट्टाएपछि निर्माण सुरु गर्ने उनीहरूसँग सहमति भएको छ ।

अनुगमन टोलीमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया समेत थिए ।

बुधवारै मेयर कोइराला नेतृत्वको टोलीले विराटनगर-६ स्थित शान्ति चोक-केशलिया रोड सडकको समेत अनुगमन गरेको छ । महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद छ । टोलीले स्थानीय घरधनीसँग छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ ।

Park Nirmar