धरान : कोशी प्रदेश फुटबल सङ्घद्वारा आयोजित प्रथम यु-१५ एन्फा प्रेसिडेण्ट कप फुटबलको उपाधि गाईघाट फुटबल क्लब उदयपुरले चुमेको छ । शुक्रवार भएको फाइनल खेल अल स्टार क्लब सुनसरीसँग १-१ गोल भई बराबरीमा खेल टुङ्गिएपछि टाइब्रेकरमा गाईघाट फुटबल क्लब विजयी भएको हो ।

टाइब्रेकरमा गाईघाट क्लबका गोलकिपर रोहन बुर्जामगरले अल स्टारको एउटा गोल रोक्न सफल भएपछि गाईघाटले अल स्टारलाई ६-५ गोलले पछि पारेको हो ।

ट्राईबरेकरमा गाईघाटका अनीश श्रेष्ठ, भरत मोहन कार्की, सुनिल सुर्खेती, अभिनाश थापा मगर र दिपेन मस्र्याङदीले गोल गरेका थिए । अल स्टारका लोक विक्रम कार्की, अशिम राई, करुण थापा र बिसु सुनुवारको प्रहार गोल भएको थियो ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा सेकेण्ड हाफपछि रोमाञ्चक बनेको थियो । पहिलो हाफमा अल स्टारका गोलरक्षकको असावधानीको लाभ उठाउँदै गाईघाटका अरुण अधिकारीले सहज रूपमा पहिलो गोल गरेका थिए ।

गाईघाटले १ गोलको अग्रता लिएपछि सेकेण्ड हाफको खेलको सुरुआत अलस्टार आक्रामक रणनीतिमा सुरु गरेको थियो । तीव्र गतिमा पासको तालमेलबाट पटक पटक गोलको प्रयास गरे पनि सफल नभएको अल स्टारका विवेक भुजेलले खेलको इञ्जुरी टाइममा रोमाञ्चक ढङ्गमा १ गोल गरेर खेल बराबरीमा टुङ्ग्याएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच अल स्टारका विवेक भुजेल घोषित भए । उत्कृष्ट गोलकिपर गाईघाटका रोहन बुर्जामगर घोषित भई नगद २ हजार सहित ट्रफी मेडल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डरको पुरस्कार राष्ट्रिय जागृति क्लबका एलन जिमीले प्राप्त गरे ।

उत्कृष्ट डिफेन्स अल स्टारका करुण थापा, बेस्ट स्ट्राइकर न्यु स्टारका सुमन चौधरी, उत्कृष्ट प्रशिक्षक गाईघाटका किरण कुमार कार्की घोषित भए । उत्कृष्ट घोषितहरूलाई जनही नगद २ हजार रुपया सहित उपहार प्रदान गरियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गाईघाटका अरुण अधिकारीलाई घोषित गर्दै नगद ५ हजार मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।