धरान : नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको धरान नगर स्तरीय समाजवादी मोर्चाको संयोजकमा सम्फर तामाङ चयन भएका छन् ।

तामाङ माओवादीका हाल धरान नगरका कार्यवाहक अध्यक्ष हुन । पालिका स्तरमा समाजवादी मोर्चा बिस्तार गर्ने केन्द्रीय निर्णय अनुसार शनिवार धरानमा ८ सदस्यीय नगर मोर्चा गठन भएको हो । मोर्चा नगर समितिमा दलबाट २/२ जनाले प्रतिनिधित्व गरेका छन् ।

मोर्चामा माओवादीबाट संयोजक तामाङ र सर्वजित राई, जनता समाजवादी पार्टीका ताजुब लिम्बू र शम्भु राई, एकीकृत समाजवादीका रेवतीरमण राई र खेम दाहाल, नेपाल कम्युनिस्ट पार्टीका मोहन राई र परिता राई छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा मोर्चा आबद्ध नेता, कार्यकर्ताको भेलाले नगर मोर्चा गठन गरेको हो । भेलामा माओवादीका सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले मोर्चाको कमिटी घोषणा गरेका हुन ।