धरान : गैरआवासीय नेपाली सङ्घले २०७९ को २ लाख रुपैयाँ राशिको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ बेलायतमा बसोबास गर्दै आएका साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने भएको छ ।

सङ्घको पुरस्कार समितिले विक्रम संवत् २०७९ मा प्रकाशित विविध विधाका नेपाली कृतिहरूमध्ये हितानद्वारा लिखित उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगद राशिको सम्मान-पत्र सहित सङ्घले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

पहिलो पटक २०७७ मा उक्त पुरस्कार हरि अधिकारीको ‘सङ्कलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । २०७८ मा चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।

गीत सङ्गीत मार्फत नेपाली जातिको जागरणमा जीवन पर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवन कथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’मा गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।

पुरस्कृत लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबिच नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नेछ ।