धरान : भारतीय सर्वोच्च न्यायालयका न्यायाधीश सञ्जीव करोल सहित विहारका न्यायाधिशहरु, प्रशासक सहित धार्मिक भ्रमणमा आएका २० जनाको टोलीले आज आइतबार धरानको विजयपुर स्थित धार्मिक स्थलहरूको दर्शन, पूजा अर्चना गरेर फर्किएका छन् ।

उनीहरूले विजयपुर स्थित प्रसिद्ध तीर्थस्थलहरू दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पिण्डेश्वर मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन । टोलीले तिनै धार्मिक स्थलहरूका परिसर, प्राकृतिक दृश्य रुचि पूर्वक अवलोकन गरेका थिए ।

भारतीय धार्मिक यात्रा टोलीमा सुप्रिम कोर्टका न्यायाधीश सहित विहारको अररिया जिल्लाका ४ जना जिल्ला न्यायाधिशहरु पनि सहभागी थिए । टोलीमा अररिया जिल्लाका सुरक्षा अधिकारीहरू सहित २० जना सहभागी थिए ।

पर्यटन व्यवसायी बासुदेव बरालका अनुसार सुप्रिम कोर्टका न्यायाधीश सञ्जीव करोलले मन्दिरहरूको अवलोकनको क्रममा ऐतिहासिक तथ्यहरूका बारेमा अभिरुचि पूर्वक सोधेका थिए । उनले यसअघि पटना हाइकोर्टको न्यायाधीश रहँदाको कार्यकालमा पनि एक पटक विजयपुरका धार्मिक स्थलहरू दर्शन गर्न आएको बताए ।

भारतीय विशिष्ट अतिथिहरूलाई विजयपुरमा वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले रुद्राक्षको माला लगाई स्वागत गरेका थिए । धार्मिक टोलीको साथमा नेपाली सुरक्षा अधिकारीहरू भ्रमण अवधिमा साथै थिए ।

indian-judge-6indian-judge-4indian-judge-5indian-judge-3indian-judge-1