विराटनगर : यहाँ स्थित राधाकृष्ण भूपालमानसिंह कार्की माविले विद्यालयमा शिक्षा आर्जन गरेर अगाडिको शिक्षालाई निरन्तर अघि बढाउँदै आएका पूर्व विद्यार्थीहरूलाई सोमवार सम्मान गरेको छ ।

विद्यालयको ७३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम बिच विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन ।

सम्मानित हुने विद्यार्थीहरूमा माविमा पढेर सीटीईभीटीको परीक्षा उत्तीर्ण गर्ने पङ्कज साह, कल्पनाकुमारी साह, ओमप्रकाश साह, राजु चौधरी, सतिसचन्द्र दास र अनिलकुमार साह छन् ।

यस्तै डिप्लोमा ईन इन्जिनियरिङका विभिन्न सेमेस्टरमा उत्कृष्ट अङ्क ल्याउने श्याम साह, कुशल भट्टराई, जयनारायण यादव, पङ्कज साह लगायतलाई विद्यालयले सम्मान गरेको छ ।

मेयर कोइरालाले सम्मानले सामुदायिक विद्यालय पढेर रोजगारमूलक शिक्षामा सफल भएका पूर्व विद्यार्थीहरूलाई प्रोत्साहित हुने विश्वास व्यक्त गरे । पछिल्लो समय भइरहेको गुणस्तरीय शिक्षाको बहसको सन्दर्भ उल्लेख गर्नै उनले भने ‘सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि नबढाएसम्म समग्र शिक्षाको विकास नहुने देखिएको छ ।’

मेयर कोइरालाले पछिल्लो समय सामुदायिक विद्यालयहरूले पनि राम्रो प्रगति गर्न थालेको बताउँदै भने ‘यसमा राधाकृष्ण सहित विराटनगरका केही सामुदायिक विद्यालय उल्लेखनीय छन् ।’

कार्यक्रममा विराटनगर-१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, शैक्षिक विकास महाशाखाका संयोजक कृष्ण भट्टराई, शिक्षक फडिन्द्र बस्तीले विद्यालयको बारेमा चर्चा गरेका थिए । व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको समारोहमा प्रधानाध्यापक राना क्षेत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।