वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं ४ को कार्यालय धनपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।

नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय २० जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३५ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।

उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २० जनालाई अस्पताल लगिएको छ । बाँकी १५ जना  प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।

शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

नगरपालिकाले एक साता अगाडि वडा नं.६ कोशीपारी श्रीलङ्का टप्पुमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको थियो । गत वर्ष पनि नगरपालिकाले मधुवन, प्रकाशपुर, कालाबञ्जर, चतरा र चक्रघट्टिमा उक्त शिविर आयोजना गरेको थियो ।