इटहरी : पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीको द योङ्ग बर्द्रस क्लबले कोशी प्रदेश स्तरीय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आउँदो माघ १३ देखि २० गतेसम्म इटहरी-५ जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन गर्ने जानकारी दिएको हो ।

क्लबका संरक्षक प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ८ वटा फुटबल टिम सहभागी हुने बताए । क्लबहरू सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, उदयपुर भएको बताइएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख ११ हजार पाउने छन् । उपबिजेता टिमले नगद १ लाख ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक दिनको म्यान अफ द म्याचलाई नगद ५ हजार प्रदान गरिनेछ ।

प्रतियोगीताका बेस्ट किप्परलाई नगद १० हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद १० हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा कुल २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

संरक्षक केसीले कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले भने, ‘यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनलाई प्रोत्साहित गर्नेछ ।’

‘किसुनजी’ लाई खेलकुद मार्फत सम्झिएको र यसमा कुनै राजनीतिक संलग्नता नरहेको उनले स्पष्ट गरे । उनले भने, ‘खेलाडी बिदेसी रहेको अवस्थामा स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका खेलाडीको संरक्षण गर्न आवश्यक छ ।’ उनले गोल्डकप सकिएको सात दिनभित्रमा सबै खर्च सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि क्लबले ‘भेट्रान कप’ फुटबल आयोजना गरेको बताए । उनले भने, ‘यो प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा स्थापित गराउन प्रेरित गर्न आयोजना गरिएको हो ।’

The Young Brothers Club 2