विराटनगर : मुटु रोग सहित महत्त्वपूर्ण विधाका अनुसन्धान उपचार पद्धति सम्बद्ध विषयका बारेमा काठमाडौँ स्थित ह्याम्स अस्पतालका उत्कृष्ट चिकित्सकहरूसँग विराटनगरमा चिकित्सकहरूले नयाँ प्रविधि तथा अनुसन्धानका मेडिकल एजुकेसन विषयक अन्तरक्रिया गरेका छन् ।

चिकित्सा क्षेत्रका नयाँ ज्ञान तथा सीप काठमाडौँ बाहिरका चिकित्सक, स्वास्थ्यकर्मीसँग आदान प्रदान गर्न ह्याम्स अस्पतालले ‘कन्टिन्युइड मेडिकल एजुकेसन’ गर्दै आएको छ । धनगढी पछि बिहीबार विराटनगरमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ह्याम्सका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रोशन राउतले मुटु कमजोर भएका बिरामीमा प्रत्यारोपण गरिने विशेष पेसमेकरको बारेमा जानकारी दिए । फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेले फोक्सोमा हुने जटिल रोग आइएलडी इन्टरष्टिसियल लङ्ग डिजिजको नयाँ अनुसन्धान तथा उपचारको बारेमा जानकारी दिइन् ।

कोशी अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा.भुवनेश्वर यादवले पेट सम्बन्धी रोगको बारेमा जानकारी दिए । कार्यक्रममा विराटनगरका अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरू ७० जना भन्दा बढी सहभागी थिए ।

सिएमई कार्यक्रमले देशका विभिन्न ठाउँमा कार्यरत चिकित्सकको ज्ञान तथा सीप बढाउन मद्दत पुग्ने सहभागी चिकित्सकहरूले बताए । नयाँ प्रविधि तथा अनुसन्धानका बारेमा एक आपसमा छलफल तथा अन्तरक्रियाले चिकित्सकहरूको ज्ञान बढ्ने, उपचारमा एकरूपता ल्याउन मद्दत पुग्ने अस्पतालले जनाएको छ ।

Hams Hospital 2