धरान : पछिल्लो समय सर्वसाधारणको करोडौँ रुपैयाँ बचतमा घपला गरेर भाग्ने गरेकाले सहकारी क्षेत्र बदनाम र अविश्वासनी भएको छ । सहकारीलाई समुदायको हितमा इमानदार र गम्भीर भएर अघि बढाउन महिलाहरूको जिम्मा दिनुपर्ने अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

डा. महतको भनाई छ, ‘महिलाहरू पुरुषको तुलनामा काममा बढी गम्भीर हुन्छन्।, पुरुषहरू एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन्, महिलाको हातमा कुनै जिम्मेवारी पर्‍यो भने, त्यसलाई गम्भीरता पूर्वक लिन्छन् र परिणाम ल्याउने काम गर्छन् ।’

नुवाकोटको पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा उनले उक्त धारणा व्यक्त गरेका हुन् । उनले निम्न आए भएकाहरूले आफ्नो आवश्यकता पुरा आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको बताउँदै भने, ‘बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले पाउनु पर्छ ।’

पछिल्लो समय सहकारी बदनाम भयो । कतिपय सहकारीले ठुलो आकार लियो, ठुलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशै भरी छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरेको उनले बताए ।

युवाहरू बिदेसिएका छन्, घर सञ्चालनको जिम्मेवारी महिलामा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएको मन्त्री महतले बताए । उनले भने, ‘महिलाहरू उत्पादन र व्यवसायमा लागिरहेका छन्।, अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’