खोटाङ : सिक्किम प्रहरीद्वारा पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राई रिहा भएकी छिन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ की उमालाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिवार पक्राउ गरेको थियो ।
फेसबुक लाइभ मार्फत उमाले आफू रिहा भएको बताएकी हुन् । उमाले आफूले विना कारण पक्राउ गरिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । भनेकी छिन्, ‘मैले सिक्किममा पर्यटकलाई यस्तो गर्छ भनेर सोचकी थिइन । सिक्किम जाने नेपालीहरूलाई सिक्किम जाँदा सोचेर मात्रै जान अनुरोध गर्दछु । सिक्किम हामीले सोचे जस्तो रहेनछ । जिन्दगीमा कहिल्यै फर्केर आउने छैन ।’
‘नाच्न आउनुहोस् है’ भनेर भिडियो बनाएर हाल्दा आफूलाई राजनीति गरेको आरोप लगाइदा आफू आश्चर्यचकित भएको उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘मैले त सोचेको थिएँ, की नेपाली सिक्किमको त एउटै मान्छे हो भन्ने ठानेकी थिएँ । सिक्किममा नेपालीहरूलाई माया गर्छ भन्ने सोचेकी थिएँ । हामी नेपालीहरूले सिक्किमको मान्छेलाई कति माया गर्छौँ । सहयोग गर्छौँ । तर, उतातिर त्यस्तो हुन्न रहेछ ।’
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी नेतृ शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो । आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको थियो । अदालतमा हाजिर हुन आउनुपर्ने गरी उनलाई रिहा गरिएको सिक्किमका सञ्चार माध्यमहरूले जनाएको छ ।
सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञप्ति जारी गरेर पवन चाम्लिङको जातिवादी राजनीतिमा उमा चाम्लिङलाई सिक्किम बोलाइएको आरोप लगाएको थियो । मोर्चाका प्रचार प्रसार शाखाका सचिव शीतल सोताङ राईले शनिवारै सार्वजनिक गरेको विज्ञप्तिमा उमा चाम्लिङ अवैधानिक रूपमा सिक्किममा बसेर राजनीतिमा प्रयोग भएको समेत आरोप लगाएकी थिइन् ।
उमाले २ मिनेट ५४ सेकेण्डको भिडिओ बनाएर चार दिन अगाडि पोष्ट गर्दै साकेलामा आउन अनुरोध गरेकी थिइन् । भनेकी थिइन्, ‘आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि । जोगाउनु पर्छ भनेर अगाडि बढिराखेको छु, नेपालमा । अब सिक्किममा हेरौँ न त कस्तो छ भनेर हैन सिक्किममा पनि धेरै किराँत हुनुहुन्छ । आफ्नो साकेला संस्कार संस्कृतिलाई जोगाइ राख्नु भएको छ भनेको त सुनेको हो । अब पर्सी तीस तारिख हेरौँ है त कत्तिको क्राउड हुँदो रैछ हैन । कत्तिको एक्टिभ हुँदो रहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ सिक्किमवासीहरूले । त्यो पनि त हेर्नुपर्यो नि हैन ।’
उता उमाले भने शनिवार आयोजना हुने साकेला नाच्नका लागि आव्हान गर्दै भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा कुनै साम्प्रदायिक कुरा उल्लेख छैन । उमाले आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि आव्हान गरेकी थिइन् । उमाको यो अनुरोधलाई सिक्किमको सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चाले अर्का नेता पवन चाम्लिङको समर्थनको रूपमा बुझेका थिए । सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकिँदै गर्दा उमाले सिक्किमवासीबिच साम्प्रदायिक अशान्ति फैलाएको आरोप छ।
उमाको यही अभिव्यक्ति जसको कारण उसलाई पक्राउ गरियो :
हेल्लो सेवा होउवामा सामुन्ना । सम्पूर्ण सिक्किमवासीहरूलाई नमस्ते । म चैँ पर्सि लेकसेप ग्राउन्डमा थर्टी तारिख आउँदै छु तपाइँहरुसँग साकेला नाच्नुको लागी हो । सप्पै जना आउनु है । ल नेपालमा त मैले साकेला मनाइरहेको छु हैन जहाँ पनि पुगेर ।
आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि । जोगाउनु पर्छ भनेर अगाडि बढिराखेको छु, नेपालमा । अब सिक्किममा हेरौँ न त कस्तो छ भनेर हैन सिक्किममा पनि धेरै किराँत हुनुहुन्छ । आफ्नो साकेला संस्कार संस्कृतिलाई जोगाइ राख्नु भएको छ भनेको त सुनेको हो । अब पर्सी तीस तारिख हेरौँ है त कत्तिको क्राउड हुँदो रैछ हैन । कत्तिको एक्टिभ हुँदो रहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ सिक्किमवासीहरूले । त्यो पनि त हेर्नुपर्यो नि हैन । त्यै भएको कारणले गर्दाखेरि म पनि तीस तारिख के भन्छ लेकसाइड आउँदै छु । तपाईँहरू पनि आउनुस् है । मज्जाले घोप्टी घोप्टी हैन साकेला नाच्नुपर्छ गीत गाउँदै । के रे मकै गोएर नजाऊ है कान्छा मलाई छोडेर भनेर म चैँ थर्काउने छु हैन । र, सँगसँगै भनेको जत्ति पति हुनहुन्छ, किराँत राईहरू हुनुहुन्छ हैन आफ्नो संस्कार संस्कृति र आफ्नो पहिचानलाई कहिल्यै पनि दबाउन नदिनुस् हैन । म तपाइँहरुलाई रिक्वेस्ट गर्छु ।
सिक्किममा आइसकेपछि पनि मैलै धेरै कुराहरू देखे हैन । म पनि धेरै दिनदेखि बसिराखेको छु । म जान खोजेको हो । सप्पै जानाले साकेवा साकेवा हाम्रो तिर चैँ साकेला भन्छ कि यतातिर चैँ साकेवा भन्नु हुँदो रहेछ । सो, साकेवा मनाएर मात्रै जानुस् के भनेर सप्पै जनाले रिक्वेस्ट गर्नुभयो । त्यो भको कारणले मैले पनि हुन्छ भनेर बसे हैन । आउनेछु तपाइँहरुसँग रमाइलो गर्नको लागी । सम्पूर्ण सप्पै जनालाई आज नै मैले रिक्वेस्ट गरिराछु । तीस तारिख चैँ सप्पैजना आउनुस् है लेकसाइडमा ।
म यत्रो नेपाल देखी आएर आफ्नो संस्कार संस्कृतिलाई माया गरेर तपाईँहरूसित सिक्किमे ठिटोहरूसित ठिटीहरूसँग दाजुभाइ दिदीबहिनी सप्पैजनासँग नाच्ने रमाइलो गर्ने साकेला भनेर बसिराको छु । राम्रो सन्देश नेपालमा लगेर छोड्नुपरो पनि त हैन । सिक्किममा यत्ति राम्रोसँग राखिराख्नु भको छ । कत्ति धेरै एक्टिभ छ । हामी पनि त्यस्तै हुनुपर्छ । मैले पनि गएर आफ्नो जेनेरेसनहरुलाई त्यहाँनेरको जत्ति पनि हुनुहुन्छ हैन हाम्रो संस्कार संस्कृतिलाई माया गर्ने, उहाँहरूलाई भन्नुपरो नि हैन । त्यो भको कारणले गर्दा म यो चोटी चैँ सिक्किमको साकेला हेर्छु है त कस्तो हुँदोरैछ । र भयो भने सिक्किमको सोल्टीहरूलाई पनि हेर्छु भनेर । सप्पै जनालाई सिम सोम । आउनु होला है ।