वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं १० स्थित प्रकाशपुरमा रहेको प्रकाशपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । आज बिहीबार नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगर सँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।
नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ८४ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३३ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।
उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २२ जनालाई अस्पताल लगिएको छ । बाँकी ११ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।
शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
नगरपालिकाले यस अगाडि वडा नं.६ कोशीपारी श्रीलङ्का टप्पुमा, वडा नं ४ धनपुरीमा र वडा नं ३ मा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको थियो ।